रमेश भारती
कास्कीकाे माछापुच्छ्रे गाउँपालिकाअन्तर्गत नुबागाउँका बलराम अधिकारी कोरोना भाइरसको संक्रमण फैलिनुअघि व्यापार व्यवसाय गर्दै आएका थिए । कोरोनाका कारण अन्य व्यापार ठप्प भएपछि आफ्नै लगानीमा ‘धितालकोट एकीकृत कृषि फार्म’ मा कालिजसँगै अन्य खेतीतिर उनी लागे । विगतका व्यापारी अधिकारी अहिले कालिजलाई चारो हाल्न ब्यस्त छन् ।

पोखरामा धेरै वर्षदेखि व्यापार र व्यवसाय गर्दागर्दै कृषि फार्म खोलेर कालिजपालन सुरु गरेको अधिकारीले जानकारी दिए । नेपाल कृषिप्रधान देश हो । भविष्यमा नेपालको आर्थिक आयस्रोत र रोजगारी कृषिमै निर्भर हुने उनकाे अनुमान छ ।

‘कोरोना भाइरसका कारण व्यापार व्यवसाय चौपट भयो । फार्म नै दर्ता गरेर कालिजपालन गर्दै आएको थिएँ । काजिलसँगै तरकारी, बाख्रा, कुखुरा पनि पालकाे छु,’ उनले भने, ‘हाल, फार्ममा ७ सयवटा कालिज छन् । यति कालिज पालन गर्न मात्रै करिब १८ लाख रुपैयाँ लगानी गरेको छु । दसैँमा कालिज बिक्री गरेर लगानी बढाउने योजना छ ।’

फार्मलाई व्यवस्थित बनाउँदै कालिज, कुखुरा, बाख्रा र अन्य चौपाय थप्दै जाने उनको भनाइ छ ।

स्वदेशमै बसेर कृषिमा लागे मासिक ४० हजार रुपैयाँ कमाउन सजिलै सकिने र खाडी तथा मलेसियामा रोजगारीका लागि जानुपर्ने बाध्यता हट्ने उनको बुझाइ छ । सरकारले सहज वातावरण बनाइदिए सामान्य कामका लागि विदेशिनेलाई पनि कृषि पेसामै लाग्न उनी आग्रह गर्छन् ।

‘हुर्किएको कालिज बजारमा प्रतिगोटा ३ हजार ५ सय रुपैयाँसम्ममा बिक्री हुन्छ । एउटा हुर्किएको कालिजको तौल २ केजीसम्म हुन्छ । कालिज हुर्काउन चारदेखि छ महिना लाग्छ,’ उनले भने, ‘कालिजको चल्लाको मूल्य पनि निकै नै महँगो पर्छ । एउटा कालिजको चल्लालाई १ हजार ६ सय रुपैयाँसम्ममा किन्नुपर्छ । त्यही भएर कालिजको मासु बजारमा महँगाे पर्छ ।’

अधिकारीले फार्म सञ्चालनका लागि करिब ३० लाख रुपैयाँ लगानी गरेका छन् । नेपालमा व्यावसायिक रूपमा पालन गरिएका कालिज विदेशबाट अण्डा ल्याई चल्ला उत्पादन गरेर हुर्किएका हुन् । कालिज समुद्री सतहको २ सय ४५ देखि ३ हजार ५० मिटरसम्म पालन गर्न सकिन्छ । नेपालको हिमाल, पहाड र तराईमा कालिज पाइन्छ । कालिज धेरै संख्यामा पहाडी क्षेत्रमै पाइने गरेको छ । पछिल्लो समय तराईका जिल्लामा पनि व्यावसायिक कालिजपालन हुन थालेको हो ।

नेपालको कालिज विदेशमा निर्यात

अधिकारी गीत संगीतका धेरै साैखिन छन् । उनले आफू जन्मिएको धिताल गाउँको परिचय खुल्ने गरी गीत समेत गाएको बताउँछन् । जीवनमा बाँच्नका लागि धेरै संघर्ष गरेको अनुभव उनीसँग छ । व्यापार व्यवसाय र कृषिका लागि पोखरासँग नुबागाउँमा दौडिरहेको अधिकारीले जानकारी दिए ।

पछिल्लो समय कृषिमा युवापुस्ताको आकर्षण बढे पनि सरकारले अनुदानसँगै बजारीकरणमा सहयोग नगरेको अधिकारी गुनासो गर्छन् ।

‘कालिजपालन गर्न अध्ययनसँगै अनुसन्धान पनि गरेको छु । सरकारले कालिजपालनका लागि वातावरण निर्माण गरेको छैन । कालिजको मासुको मूल्यसमेत नतोक्दा बजारमा मनपरी बिक्री भइरहेको छ,’ उनले भने, ‘नेपालमा उत्पादन भएको कालिज खाडी देश र मलेसियासँगै एसियाका केही देशमा बिक्री गर्ने सकिन्छ । सरकारले विदेशी बजारमा नेपालमा उत्पादित कालिजको मासु बिक्रीका लागि पहल गर्नुपर्छ ।’

सरकारले किसानले कृषिमा गरेको लगानी र मिहिनेतका विषयमा जानकारी नलिने गरेको अधिकारीको भनाइ छ । उनको फार्ममा उत्पादन भएको कालिज र तरकारी पोखरालगायत स्थानीय बजारमा बिक्री हुने गरेको छ । उनले कालिज र फार्मको रेखदेख गर्ने दुई जना कामदार राखेका छन् ।

कृषि ज्ञान आवश्यक

सरकारले कृृषिमा लागेका कृषकलाई खेतीपातीसम्बन्धी तालिम र ज्ञान दिनुपर्ने किसानहरूले माग गर्दै आएका छन् । सरकारले कृषिमा धेरै लगानी गरेपनि किसानसम्म नपुग्ने गरेको बलरामको आरोप छ ।

सरकारले कृषिका लागि करिब ४० अर्ब लगानी गर्दै आएको छ । तर, त्यो रकम किसानको खेतीपाती र गोठसम्म नपुग्ने गरेको उनले बताए ।

‘अहिले जति पनि कृषिमा लगानी भइरहेको छ । सबै परम्परागत खेतीमै लगानी हुँदै छ । कृषिलाई व्यावसायिक बनाइरहेका कृषकले पनि विगतकै शैलीमा खेती गरिरहेका छन्,’ उनले भने, ‘सरकारले समयअनुसार खेती गर्ने कृषकलाई आधुनिक तालिम दिन सकेन । जसका कारण जति जानेका छन्, त्यसरी नै परम्परागत खेती किसानले गर्दै आएका छन् । यो सरकारको कमजाेरी हो ।’

सरकारले कृषिमा उत्पादन बढाउन र आधुनिक खेतापाती गर्ने योजना अघि सारे पनि ती याेजना कार्यान्वयन गर्न नसकेको अधिकारीको बुझाइ छ । सरकारले कृषकका लागि भनेर वार्षिक रूपमा वितरण गर्ने अनुदान रकम वास्तविक किसानले नपाउने गरेको उनको दाबी छ । कृषकलाई सरकारी अनुदान र बैंकबाट सहुयलित ऋण लिन धेरै कुरुवाउने गरेको उनले गुनासाे गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर