तुलसीपुर– कुनै समय उजाड रहेको दाङको तुलसीपुर उपमहानगरपालिका–१८ तुलसीपुर–घोराही सडकखण्डसँगैको जग्गा अहिले हरियाली बनेको छ।
‘यो उजाड जग्गामा गाडिएका पिल्लर कहिले फल्ने हुन् ?’ भन्दै खिसिट्यूरी गर्नेहरु भने चकित परेका छन्। खाली जग्गा सदुपयोग गरेर पूर्वमन्त्री लोकेन्द्र बिष्ट मगरसहित तीनजनाले ड्रागनखेती गरेपछि त्यो ठाउँ अहिले हरियाली बनेको हो।

‘ड्रागन फ्रुटको बिरुवा लगाएको दुई/तीन वर्षपछि मात्रै फल दिन्छ’, मगरले भने, ‘तर हामीहरुले छिप्पिएका बिरुवा लगाएर होला, नौ महिनामै फल दियो।’नौ महिनामै फले पनि अझै परिपक्व भएको छैन। पहिलो चरणमा थोरै फल दिए पनि आगामी असार, साउन, भदौमा राम्रो उत्पादन दिने मगरको भनाइ थियो। ‘एउटै बोटबाट तीन/चार केजी फल लाग्छ’, उनले भने, ‘त्यतिबेला करिब चार/पाँच टन उत्पादन होला।’

दाङमा अहिले आफूले ६६ कट्ठामा ड्रागन फ्रुटखेती गरेको भन्दै केही अनुसन्धानकर्ताले नेपालमा यो नै सबैभन्दा ठूलो क्षेत्रफलमा गरिएको खेती भएको बताउने गरेको मगरले जानकारी दिए।
उनले भने,‘अझै ठूलो क्षेत्रफलमा यो खेती हुन सकेको छैन, तर आकर्षण बढ्दै गएको छ।’ अहिले फार्ममै आएर धेरैले यो खेतीका बारेमा बुझ्ने गरेका छन् भने केहीले बिरुवा लैजाने गरेका छन्।
रोग प्रतिरोधात्मक क्षमता धेरै भएकाले यसको खेती विस्तार गर्न ध्यान दिनुपर्ने उनको सुझाव छ। ‘यो फल किन्न महँगो पर्छ, स्वास्थ्यका हिसाबले एकदमै महत्वपूर्ण भएकोले यो खेती विस्तार गर्ने सोच बनाएका छौँ’, मगरले भने। नेपालमा यो फ्रुट उत्पादन हुन सकेको छैन। न्यून मात्रामा भियतनाम लगायतबाट आउने यो फ्रुट बजारमा पाइन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर